(१) कुनै स्थानमा यस ऐनबमोजिम सजाय हुने कसूर भएकोछ भन्ने मनासिब माफिकको कारण भएमा अन्तशुल्क अधिकारीले त्यस्तो स्थानको खानतलासी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी गर्दा अन्तशुल्क अधिकारीले खानतलासी गर्नु पर्ने कारण खोली खानतलासी गर्ने स्थानको धनी वा तत्काल सो स्थान प्रयोग गरिरहेको व्यक्तिलाई सो स्थानमा प्रवेश गर्नुभन्दा अगावै सूचना दिएर मात्र खानतलासी गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम खानतलासी गर्दा यस ऐनबमोजिम सजाय हुने कसूर भएको विश्वसनीय कारण देखिएमा त्यस्तो कसूरसँग सम्बन्धित सामान कब्जामा लिन सकिनेछ ।
(४) कुनै व्यक्तिले यस ऐनबमोजिम सजाय हुने कसूर गरेको वा गर्न लागेको छ र निजलाई गिरफ्तार नगरेमा निज भागी जाने सम्भावना छ भन्ने लागेमा अन्तशुल्क अधिकारीले निजलाई गिरफ्तार गर्न सक्नेछ ।
(५) यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा अन्तशुल्क अधिकारीलाई प्रचलित कानूनबमोजिम प्रहरीलाई भए सरहको अधिकार हुनेछ ।
(६) अन्तशुल्क अधिकारीले यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा स्थानीय प्रतिनिधिको रोहबरमा गर्नु पर्नेछ ।
(७) अन्तशुल्क अधिकारीले यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा अपनाउनु पर्ने अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।